किम्फ कलर – फुर्सदका युवा, दर्शक जमात र केही कुरा

Posted: December 23, 2013 in article आहा
Tags: ,
kimff-film-festival-11-15

11th KIMFF @Sabha Griha

सधै घर – अफिस – घर गरिने ब्ल्याक एंड व्हाईट लाईफमा थोरै सही केहि कलर थप्न आइपुगेको एघारौं किम्फ अर्थात काठमाडौँ अन्तरास्ट्रिय पर्वतीय चलचित्र महोत्सव भर्खर सकिएको छ। किम्फ जस्ता महोत्सव या प्रदर्शनी आफुमा रंग लिएर आउँछन् अनि हाम्रो सिधा – सादा दैनिकीलाई अंकमाल गरी आफ्नोपन देखाऊँछन् र हाम्रा सेता लुगाभरि रंग पोती जान्छन् , अन्तमा छोडी जान्छन् त ऐनामा हाम्रो रंगिन मुहार।

आफ्नो पनि एकनासे दैनिकी साथै यस्ता महोत्सव काठमाडौँ बाहिर कमै हुने हुनाले काठमाडौँ आए देखिन व्यग्रताका साथ किम्फ कुरेर बसेको थिए। अरु बेला त काममै अल्झिने र सप्ताहन्त बिदा २ दिन हुने भएकाले शनिबार तथा आइतबार भने राष्ट्रिय सभा गृहमा किम्फकै लागि भनि झण्डा नै गाडेर डेरा जमाइयो। समग्रमा यो सप्ताहको अन्त अति नै सुखद र बिशेष रह्यो – इन्द्रेणी देखिएको दिन झैँ !

हेलो ! अँ, किम्फमा भेटौं न त !
– हँ ? के हो यो किम्फ भनेको ?

शनिबारको लागि साथी खोजिरहँदा केहि साथीहरुबाट पाएको प्रतिकृया हो यो। सोसल मिडिया तथा अन्य समाचार साइटहरुमा समेत प्राथमिकताका साथ बारम्बार चर्चा परिचर्चा भएता पनि अझ पनि धेरै युवा यस बिषयमा अनभिज्ञ रहेछन् भन्ने जनाउँछ माथिको प्रतिकृयाबाट। रुची भएका युवा जमात त खोजी खोजी हिड्ने भै नै हाले तर रुची भएर पनि आफ्नो रुचीसँग अनभिज्ञ भएका जमात नि ? हाम्रो रुची कम्प्युटरमा पहिल्यै देखि नै भएर हामीले कम्प्युटर चलाउन थालेका हैनौं, चलाउँदै जाँदा बिस्तारै रुची बढ्दै गएको हो। यसैगरी फिल्म, फोटोग्राफी, कविता, सोसल लाईफ आदिमा पनि यही कुरा लागु हुन्छ। समय अनुसार मन त परिवर्तन हुन्छ भने रुची नहुने कुरै भएन – साथीसंगत, वरपरको वातावरणले रुची बढाउन अहं भूमिका खेलिरहेका हुन्छन्। दर्शकविधामा उभिएको व्यक्ति नै पछि गएर प्रदर्शनी गर्ने व्यक्ति बन्ने हो। हामी सृजनाको कदर गर्छौ, यसर्थ पनि यस्ता अनभिज्ञ जमातलाई कमसे कम दर्शकविधामा कसरी समेट्ने भन्ने बारे नी हामीले सोच्नु पर्ने भएको छ।

किम्फ जस्ता महोत्सव, कथा तथा कविता वाचन/लेखन, फोटो प्रदर्शनी, सष्ट्रा साक्षात्कार, म्याराथन, हस्ताक्षर संकलन आदि इत्यादी जस्ता यस्ता धेरै कार्यक्रम छन् जुन देशको राजधानी भएको काठमाडौँमा भैरहन्छन्। सोचेअनुरूप दर्शक आउनु धेरै नै राम्रो हो तर दर्शक अभाव झेलेका कैयौं कार्यक्रमहरु पनि हामीले देखेकै हो नि , हैन र ?

कलेज अनायासै केहि दिन बिदा हुन्छ, रातिको नाइट ड्युटी परेकोले कतिलाई अफिस धाउनु परेको छैन। यस्ता कैयौं छुट्टीहरु छन् जो केवल कि त टेलिभिजन या इन्टरनेट च्याटमा बितिरहेका छन्। के एक यस्तो मंच वा प्लाटफर्म रच्न सकिदैन ताकी त्यस्ता युवा जमातको खेर गइरहेका छुट्टीहरुको सही सदुपयोग गर्न सकियोस् ? – जस्तै एक वेवसाइट जसले हरेक प्रोग्राम तथा इभेंटहरु एकै थलोमा समाहित गर्न सकोस !

यही बिषयमा गूगल गर्दै जाँदा इभेन्ट्सइननेपाल.कम भेटिएको थियो तर उक्त साइट मुख्यतया क्लब, पार्टीहरुमा केन्द्रित रहेको देखियो। रसियन कल्चर सेन्टर, राष्ट्रिय सभा गृह, ड्रामा-थिएटर, विभिन्न दुतावास, एनजिओ तथा अन्यहरुले के र कहाँ तथा के कस्ता कार्यक्रमहरु कति सहुलियतमा संचालन गरिरहेका छन् जस्ता जानकारी एउतै मंच अर्थात् वेवसाइटमा पाइने हो भने ति जागिर र कलेजको दौडधुपमा केहि फुर्सदिला बनेका त्यस्ता कैयौं जमात लाभावन्तित हुन्थ्यो की ? दशठाउँ चहारी कहाँ के के भै रहेको छ भनि हेर्नुको सट्टा एक साइट खोल्यो, हेर्यो अनि आफु पायक पर्ने बेलाको कार्यक्रम छानेर गयो। यस्ता कार्यक्रममा खुपै चाख राख्ने तथा कार्यक्रमस्थललाई आफ्नो डेटिंग स्पट बनाउन तत्परत जमात त झन् आनन्दित हुने नै भयो।

व्यस्तताकाबिच पाएको केहि आरामको समय फुर्सदको समय हो – त्यस्तो एक साइटले उक्त समय साँचिकै ओजिलो बनाउने थियो र कार्यक्रमहरुले पर्याप्त दर्शक नि पाउने थिए।

सपना भन्ने कुरा आखाँसंगै आएको हुन्न, दृश्य देख्दै जाँदा सपनाहरु नि बुनिदै जाने हुन्। आज हामी यस्ता बेफुर्सदका फुर्सदिला युवालाई दृश्य देखाऔं, बिस्तारै ति दृश्यहरुले मोहित पार्दै जानेछन् अनि दर्शकविधाबाट आफुलाई अघि बढाई फोटोग्राफर, राइटर, इभेन्ट प्रोग्रामर, डाईरेक्टर विधामा पनि उभ्याउन नखोज्लान् भन्न सकिन्न।

यो त भयो जागिर, कलेजको व्यस्तताका युवा जमात जसलाई किम्फले निकै नि कम मुल्यमा डाकिरहेको थियो फिल्मप्रति आकर्षित गराउन तर नेपालको ठुलोपर्दाका चलचित्रमा लागिपरेका तथा पर्दामा देख्न सकिने एक बृहत र भारी जमात भने किम्फको आँगनमा कमै देखियो। आफ्नै चलचित्र त दर्शक भै नहेर्ने परिपाटी रहेको हाम्रो नेपाली चलचित्र उध्धोग दर्शक बढाउन सक्षम देखिन्न, देखिन्छ त केवल एक रटान भट्याउन की नेपाली चलचित्रलाई नि माया गरिदिनुपर्यो, हेरिदिनुपर्यो। अडीयन्स एनालाइसिस, बजार विश्लेषण कमै गरेको पाइन्छ नेपाली चलचित्र निर्माण तथा निर्देशन समितिले। दर्शक के चाहन्छन्, कस्ता कथा मन पराउँछन् – यस्ता कुरा थाहा पाउन के किम्फ एक उपयुक्त स्थल थिएन र ? दर्शक भएर अरुको सानै सही प्रयास हेर्नुस लामो चलचित्रका महाशय, चिन्तन गर्नुस दर्शकको रुची – अभिरुची, बनाउनुस् यथार्थपरक र हाम्रो आत्मा छुन सक्ने जीवन्त चलचित्र, तत्पश्चात हामी पनि कसरी नहेरी बसिरहन सक्छौ र ?

किम्फको कुरा गर्दै जाँदा खट्किएको एक कुरा चाँही सभ्य दर्शक हो। चलचित्र देखाईसके पछि निर्माण टोलीसँग साक्षात्कार तथा प्रश्नोतर कार्यक्रम शुरु हुँदै गर्दा सबै बत्तिहरु बालिइन्छन्, ढोका खोलिइन्छन् – विशिष्ट श्रेणिका दर्शक त आफ्नो स्थान छोडेर बाहिर जान्छन भने अन्य सामान्य दर्शक नजाने त कुरै भएन। चलचित्र निर्माण पक्ष माइकमा बोलिरहेको हुन्छ यता खाली कुर्सीहरुको संख्या बढ्दै गइरहेको हुन्छ। के यो सष्ट्राको तौहीन भएन र ? आफ्नो कुरा राखिरहेको उक्त चलचित्रकर्मीको अपमान भएन र ? सभ्य दर्शकको जमात बनाउन नसक्नु किम्फ व्यवस्थापनको कमजोरी वा हामी दर्शकको आफ्नै मनोमानी ?

यसपटकको किम्फमा सधैको झैँ पर्वतारोहण सम्बन्धी थुप्रै चलचित्रहरु देखाइए। बुद्ध र सगरमाथा नाम भजाएरै डलर खाने बानी परिसकेको हामी नेपाली समुदाय सगरमाथासँगसँगै अर्को फोहोरको सगरमाथा नि अग्लिदै छ भन्ने शाश्वत सत्यलाई नजरअन्दाज गरी बसिआइरहेका छौं। फोहोरको प्रकृति हेरेर जलाई, गाडी तथा अन्य प्रक्रियाले फोहोरको व्यवस्थापन गर्न सकिन्छ। पर्वतारोहीहरुलाई नेपाल सरकारको जुन बिभागबाट पर्वतारोहणको अनुमती प्रदान गरिने हो, के त्यहि विभागले फोहोर व्यबस्थापनको नि प्रशिक्षण दिन सक्दैन ?

किम्फको आयोजक हिमाल एसोसीएसन युवा भन्ने शब्दलाई गहिरिएर बुझ्छ र त बिगत केहि बर्षदेखि युवाकै लागि युवाहरुलाई नै स्वयंसेवक परिचालित गरी किम्फ आयोजन गर्दै आइरहेको छ तर यसको औपचारिक वेवसाइट गई हेर्दा २०११-०३-०३ देखि अपडेट तथा परिमार्जित गरिएको देखिन्न र पनि उक्त वेवसाइट आफ्नो हरेक सुचीपत्रमा सुचिंकन गर्न चुक्दैन। युवा र युवा परिचालन राम्ररी बुझेको हिमाल एसोसीएसन इन्टरनेट संजालको बिषयमा चाँही किन लौरो टेक्न छोडी भित्ता समाई हिडी आफ्नो पूर्णतया पुरातन बुढ्यौलीको पहिचान दिईरहेको हो, बुझ्न सकिएन।

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s