October 26, 2012 मितिमा रिलिज भएको चलचित्र ‘धुँवा यो नशा’ हालको मितिमा १ हप्ता लगाई ल्यापटपमा बल्लतल्ल हेरिसकेपछि मष्तिस्क सोच्न बाध्य भयो “अध्ययन नै नगरी किन बनिइन्छन् नेपाली चलचित्र ?”
‘धुँवा यो नशा’ त्यस्तै एक चलचित्र हो जसमा कथा ड्रग्सको छ तर ड्रगकै बारेमा अध्ययन नै नगरी मात्र क्यामेरा घुमाइएको छ र पात्रहरुलाई त्यहि क्यामेराको अघि बोल्न लगाइएको छ, बस। दृश्यमा के भन्ने, के गर्ने र के खिच्ने जस्ता कुराहरु निर्देशन पक्षले क्रमश: पात्र तथा क्यामेरापर्सनलाई राम्ररी सम्झाइबुझाइ आफु चाँही धुँवा तान्न गएको स्थिति छ किनकि दृश्यमा पात्र तथा क्यामेरापर्सनको उपस्थिति आभाष हुन्छ, निर्देशन पक्षको नाइँ। संवाद बोल्दाको प्लट कस्तो हुनुपर्छ, कसरी बोल्दा ठिक होला, अनि त्यो दृश्य त्यसरी नदेखाई यसरी देखाउदा के होला ? – यस्ता अनेक कुराहरु छन् जुन निर्देशन पक्षले विचार गर्ने कुरा हुन् तर निर्देशन पक्षले त्यस्ता कुरा वेवास्ता गरेपछि पात्र तथा क्यामेराम्यानले जे सिकाइएको छ त्यहि गरिदिएको चलचित्र हो – ‘धुँवा यो नशा’ अर्थात निर्देशकको अनुपस्थितिमा बनेको चलचित्र हो यो।