मिति 25 January, 2013 मा रिलिज भइ व्यवसायिक असफलताको स्वाद चाखेको नेपाली चलचित्र धन्दा हालको मितिमा DVD किनी ल्याई ल्यापटपमा कफीको चुस्कीसँगै हेरिरहँदा कफी कतिखेर चिसो भैसकेछ पत्तै पाइएन। चिसो कफी एकै साँसमा घुटुक्क पारियो। समयमै न्याय नगरेकोमा कफीलाई त भनियो नै साथै हेरिरहेको चलचित्रलाई नि भनियो – “ I am Sorry” – मनैदेखि।
Nepali Movie Dhanda Story in Short Form
अर्जुन(अर्पण थापा) गाउँको एक अस्थायी शिक्षक हो। अमेरिका गई केहि राम्रो जिन्दगी जिउने आशमा बाबुको स्वीकारोक्ति नहुँदानहुँदै पनि घरखेत धितोराखी ९ लाख काठमाडौँको म्यानपावर एजेन्सीलाई बुझाउँछ। म्यानपावरले धोका दिएपछि पैसा फिर्ता लिन जाँदा उल्टै मरणासन्न हुनेगरी खुकुरी प्रहार भएपछि कसैगरी बाँच्न त सफल हुन्छ तर कुरूप तथा क्षतविक्षत अनुहार, मानसिक असन्तुलन अनि मरेतुल्य जिन्दगी लिई। आफुलाई त्यो अवस्थामा ल्याईपुर्याउने एक-एकलाई धित नमरुञ्जेल मार्छ र अन्ततः सामान्य अवस्थामा नफर्कने गरी उसको कथा सकिन्छ।
Now Nepali Movie Dhanda in Review Platform
हामी ‘रे’ मा कति बिश्वस्त हुन्छौ भने त्यो ‘रे’ को रेतिले कसैको घाँटीनै रेटिंदा नि हामी ‘रे’ को आलाप रेट्न छोड्दैनौ। यस्तै ‘रे’ को रेटाइमा परेको हुनसक्छ – नेपाली चलचित्र धन्दा। “चलचित्र त धेरै नै हिंसात्मक छ अरे”, “रगतले लतपतिएका दृश्य देख्दा आङै सिरिंग हुन्छ रे” । केहि हदसम्म यी कुरा सत्य हुन् तर Wrong Turn, Final Destination जस्ता चलचित्रका DVD खोजीखोजी हेर्ने बानि परेका हामी युवा दर्शक भिडबाट भने त्यो ‘रे’को अपेक्षा चैं गरिएको थिएन। अपेक्षा थियो त सकारात्मक ‘रे’ को – “चलचित्रको निर्देशन र अभिनय त अति नै स्तरीय छ अरे”
व्यावसायिक कारोबारमात्र सफलताको सूचक हुन्थ्यो त चलचित्र क्षेत्रभित्र चार्टड एकाउन्टेटहरुको भिड बढी हुन्थ्यो होला – समिक्षक वर्गलाई साइड लगाई। निर्देशन, अभिनय, कथावस्तु, प्रस्तुतिकरण, अध्ययन, गृहकार्य – यस्ता अनेक विधा छन् जहाँ कमसेकम मेरो लागी धन्दा सफल भै उभिएको छ भलै व्यवसायिक हिसाबको लेखाजोखामा तलै किन परेको होस्।
अभिनयको हिसाबले अर्पण खरो छन् भन्ने अझ प्रमाणित त भयो नै साथै कथा, पटकथामा नि उनि अब्बल रहेछन भनि मान्न करै लाग्यो। साथै ‘मेरो एउटा साथी छ’ मा औसत अनि ‘के यो माया हो’ मा झुर निर्देशनको छाप दिएका सुदर्शन थापा कथावस्तु अनुसार निर्देशन गर्न माहिर रहेछन् भनि मन, मष्तिस्क बिश्वस्त भैदियो।
बिगत केहि महिनायता आफ्ना अत्यावश्यक कामसम्मलाई थाती राखी नेपाली चलचित्रहरु लगातार हेरिरहेको छु (धन्न पाटन अस्पताल पुगिया छैन) । हेरिसकेका मध्ये अहिलेसम्मको उत्कृस्ट चलचित्र हो – धन्दा मेरो लागि। फरक धार बोकेको धन्दाको धार तिखो अनि धारिलो छ र लाग्ने हैसियतको छ।
नेपाली चलचित्र प्यासन-जोश र डेडीकेसन-समर्पण का साथ बनाइन्न। थाहा पाइ पाइकनै गल्ति गरिइन्छ (सुधार्न लायकका भएपनि), साथै गल्तिको स्पटिकरण नि दिइन्छ चलचित्रमै। (यस बारेमा अर्को लेखमा लेख्नेछु)। कसोगरी हुन्छ क्यामरा घुमाउँ र सकिहालौ अनि हलमा चलाई केहि मुनाफा कमाउँ – जस्तो देखिइन्छ ध्येय अधिकांशको तर ‘धन्दा’ त्यो बाटोमा हिड्दैन। इनडोर सुटिंगको कारण केहि दिनमै सकिएको धन्दाको छायांकन केहि अरु दिन लम्बिएको थियो त बस यसको गृहकार्यले – जुन नेपाली चलचित्रमा कमै गरिइन्छ।
चलचित्रकै लागि केहि दिनको समयावधिमा मोटाउनु, दुब्लाउनु जस्तो अर्पण थापाको गृहकार्यले नै चलचित्र स्तरीय भन्न खोजिएको हैन तर जुन प्रकारले हर कलाकारबाट प्यासोनिएट तरिकाले चरित्रमा डुबेर अभिनय गरिएको छ, अनि जसलाई एउटा सही निर्देशन दिइएको छ – त्यो हो स्तरीयताको प्रमाण। तपाईं हामीलाई बिझाएको हिंसात्मक दृश्यलाई नजरअन्दाज गर्ने हो भने चलचित्रका चरित्रको अभिनय, भाव, बेदना जुन तरिकाले मनलाई स्पर्श गर्दछ र चलचित्र हेरिरहँदा जुन तरिकाले अनायसै त्यो सोझो अर्जुन पात्रको माया लागेर आउँछ अनि मन भरिएर आउँछ – के यी एक सफल चलचित्रको बिशेषता हैनन् र ?
संवादहरु कम छन् तर प्रष्ट छन्। लोग्नेस्वास्नी (अर्पण थापा, समुना के.सी) को मधुर, काउकुतीजन्य प्रेमालाप र वार्तालाप हुन् वा बाबुको छोराको भविष्यप्रतिको डर मिश्रित गाली नै किन नहोस् अथवा मानसिक सन्तुलन बिथोलिएपछिको हिंस्रक अर्जुनको बिना बोलिको मात्र मुखाकृतको एकतर्फी मौन संवाद – औसत दर्जाभन्दा निकै नै माथि रेखांकन हुनपुग्छन् ती। हिंसाबिनाका दृश्यमा निर्देशकीय कार्यक्षमता त देखिइन्छ नै साथै हिंसाका दृश्यमा नि स्तरीयता भेटिइन्छ – निर्देशकको। गीतका हर शब्द कथासँग मिल्छन र कथाकै मर्म बोक्छन। अझ ब्याकग्राउण्ड म्युजिकको कुरा त बाँकी नै छ।
यस्ता अनेकन स्तरीयता लिई हामीसामु आएको धन्दाको हिंस्रक तस्विरमात्र मध्येनजर गरी हामी यसलाई बाइपास गर्छौ वा भनौ कर्के आँखा लाउछौ भने त
“अभागी अर्पण थापा लगायतको अब्बल अभिनय” र “सुदर्शन थापाको सशक्त निर्देशन” रहेको धन्दा धारिलो तर दर्शकबाट धोका पाएको चलचित्र हो भन्दा अयुक्ति नहोला।
कमजोरी नै खोज्ने हो भने –
- काठमाडौँदेखिको टाढाको कुनै गाउँ भनिइन्छ तर टाँगेको निर्माण व्यवसायी संघ प्रमाण-पत्रले भन्छ – यो कुनै काठमाडौँभित्रकै गाउँ हो।
- अर्पणको ‘मेरो पैसा फिर्ता दे नत्र पुलिस बोलाउँछु’ भन्ने वाक्यबाटै डराएर कुनै नि म्यानपावर एकचोटीको धम्किबाटै त्यत्रो ठुलो मान्छे नै मार्ने कदम त लिदैनन् होला।
- फेरी मान्छे झुक्याउने, अलपत्र पार्ने त ति म्यानपावरको खेलाँ नै हो। यसको मतलब अर्पण भन्दा पहिलेका जो कोहिले पैसा फिर्ता माग्यो सबलाई मारी हिड्दै त हिडेनन होला म्यानपावर व्यवसायीले।
- प्रमाण-पत्र थाकका थाक भित्ताभरि सजाएको प्रतिष्ठित झैँ देखिने म्यानपावरले त्यस्तो मान्छे मार्ने जस्तो जघन्य अपराध नै गर्नु पर्ने कुनै ठुलो कारण चलचित्रमा भेटिइदैन।
कमजोरी नै नभेटिने चलचित्र अपवाद हुन्। खोज्दै हिड्ने हो भने हर एकमा भेटिन्छन् कमजोरी। यसर्थ मिहिनेतका साथ गरिएको राम्रो प्रयाशको कमसेकम समर्थन चैं गरौँ धेरै केहि गर्न नसकिए नि।
मारीसकेपछि पनि लाशमाथि अझै खुकुरी, हेल्मेट प्रहार गरिरहेको दृश्य देखी ओहो कस्तो भयावह दृश्य रहेछ भनी आँखा चिम्लिन खोज्छौ तर अर्जुन पात्रको बुझाउन अनि देखाउन खोजिएको त्यो बितृष्णा, त्यो चित्त नबुझेको मनको मनोदशा हामी बुझ्न सामर्थ राख्दैनौ भने हामीले भन्नै पर्ने हुन्छ – धन्दा टिम हामीलाई तिम्रो स्तरीय चलचित्र हेर्न आएन। माफ गर।
अन्त्यमा:
भृकुटीमण्डप नेरको बार धन्दा शुटिंग गर्दा भत्काइएको र क्षतिपूर्तिसम्म नदिइएको गुगल गर्दा थाहा हुन आयो – मन नपरेको पक्ष।
If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for the next post.
सुदर्शन थापा निर्देशित नेपाली चलचित्र धन्दा हेरीसक्नु भएको हो भने कस्तो थियो तपाईंको प्रतिक्रिया ? – कृपया जानकारी गराउनु होला 🙂
Thank you 🙂
LikeLike
[…] धारिलो तर धोका पाएको : धन्दा #Nepali_Movie […]
LikeLike