अक्षरहरु सापट लिई
शब्द एक बनाएँ
संसार आफ्नो सारा ठानी
त्यसमै बस रमाएँ
मेरो शब्द वाक्य बन्न
शहर पसेछ
सानो थियो ठुलो हुने
रहर जाँगेछ
साना आँखा ठु~ला सपना
सपना किन्ने ती महत्वाकांक्षी चाहना
चाहनाको धरातल बिपनाको गहिराई
डुबुल्की नि मार्यो, बहानाको पर्दा लगाई
उ शहरमा छ
फिज़िदै गए खबरहरु
बढ्न थाले उसका नि अब रहरहरु
कथामा मिल्नपाए म जिउनु साकार हुन्थ्यो
आकार, प्रकार त गौण हुन्
हरेक सर्त गरिन्छ स्वीकार भन्थ्यो
हो ! शब्द खोज्दैथ्यो कथाको घर
के कस्तो सर्त राखियो, म अन्जान बेखबर
तर सुने , उसको चिहान खनियो रे
मेरो मायाको चिहान वर ..
हो, उसको आत्माको चिहान !
ठुला ठालुको संगत, ठुलै पहिचान
के कति बिकिदै छौ ? अनि हुदैछौ महान ?
सोधु की एक मन तिमी सित ?
गाउँ फेरी पस्नु थिएन त
भन्यौ किन ? साँची राख मेरो प्रीत !
मष्तिस्क मात्र मेरो हो
याद त तिम्रै हो
तर तिम्रो यादमा अट्दीन म अचेल
किनकि ..
तिम्रो याद सम्मुनत हुँदैछ
अनि मेरो याद भूमिगत हुदैछ
तिम्रो मानसपटलबाट .. थाहा छ !
भुल भएछ क्यार
शब्द बनाई मागी मागी उधार
जोहो गरी ‘तिमी’ बनाएँ
म भुली तिमीमै रमाएँ
तर आज मेरो ‘तिमी’ मै सँग छैन
कथामा अल्मलिदै उसलाई फुर्सद नै छैन
बनाएको शब्दै मेटु भन्दा नि यो किन मेटिदैन ?
आज मेरो शब्द किन मै सँग छैन ?
मेरो शब्द आज मै सँग छैन !