विवाद र चर्चाको बिच घेरिएको गिरिजा प्रसाद कोइरालाको संक्षिप्त जिवनी
नेपाली कांग्रेसको जग बसाल्ने कोइराला परिवारद्दय विश्वेश्वरप्रसाद कोइराला (वि.पि.) र गिरिजाप्रसाद कोइराला (जि.पि.) नेपाली कांग्रेसको मात्रै नभई नेपाली राजनीतिक इतिहासकै शिखर व्यक्तित्वहरु हुन् । पिताजी कृष्ण प्रसाद कोइरालाको जहानिया राणा शासन विरोधी कार्यक्रमलाई नजिकबाट नियालेका यि दुई दाजुभाइ एकै राजनीतिक वातावरणमा हु्र्केपनि यिनिहरुबिच धेरै भिन्नता पाइन्छ । विपि राजनीतिसँगै साहित्य र दर्शनशास्त्रमा चाख राख्ने अर्थात उनको व्यक्तित्वमा विभिन्न चरित्र थिए भने गिरिजाको पक्षमा भने ‘सिंगल माइन्डेड’ – यानी मात्र राजनीति ।
हुन त विपि र गिरिजाको राजनीतिक विश्लेषण गर्ने हो भने वि.पि.आफ्नो आदर्श र विचारका कारण आजसम्म जिवितै छन् भने गिरिजा ६० दशकको लामो अनुभव र राजनीतिक वृतलाई आफ्नै वरिपरि घुमाउन सक्ने खुबिका कारण नेपाली राजनीतिका एक महान नेताका रुपमा लोकार्पित भए । तथापी आफ्नै दाजुसँगको तुलनात्मक राजनीतिक जिवनलाई नियाली हे्र्ने हो भने गिरिजा कैयन विवादित काण्डहरुको मुख्य जरोको रुपमा आरोपित छन् भने यता विपिका सिद्दान्त र दर्शन अझै पनि कांग्रेसको मेरुदण्डको रुपमा स्थापित रहिरहेका छन् ।
वि.सं. २००३ को विराटनगरको जुटमिलमा मजदुर आन्दोलन पश्चात राजनीतिक यात्राको थालनी गरेका गिरिजा २०३० जेठ २९ गतेको विमान अपहरणका नाइके समेत हुन् । मोरंग जिल्ला सभापति हुदै २०३३ मा कांग्रेसको महामन्त्रीको पदभार सम्हालेका उनि २०४८ सालमा जननिर्वाचित सरकारका प्रथम प्रधानमन्त्रि हुन् । २०४८ सालसम्मको राजनितिक जीवनमा मात्र कांग्रेसी नेताका रुपमा चर्चित गिरिजा प्रधानमन्त्रि पश्चात २०५६ सालसम्म अनेकौ काण्ड र प्रकरणको विवादमा तानिइरहे । २०४९ सालको धमिजा काण्ड होस् वा २०५७ सालको लाउडा प्रकरण या सानातिना अन्य राजनीतिक तथा आर्थिक अनिमियताका आरोपहरु – चर्चित तर पुर्णत विवादित व्यक्तित्वको रुपमा उनि चिनिए । अचानक २०६१ माघ १९ को राजा ज्ञानेन्द्रको शाही कु लाई आफ्नो बिग्रिएको छविलाई सपार्ने एक सशक्त माध्यमका रुपमा लिएका गिरिजाले समयको सहि मुल्याकंन गर्दै माओवादीलाई शान्ति र राष्ट्रिय सहमतिको मुलधारमा ल्याई एक अभिभावकको रुपमा दर्शाउन सफल रहे र जीवनको उत्तरार्धमा सम्पुर्ण दलहरुका राजनेताको रुपमा उदयमान रहे ।
नेपाली राजनीतिक इतिहासका अध्येता र ‘ए हिस्ट्री अफ नेपाल’ का लेखक जोन ह्वेल्पटन आफ्नो लेखमा लेख्छन “राजतन्त्रको अवसान हुनुमा माओवादी र कोइराला भन्दा पनि राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको क्रियाकलाप बढी जिम्मेवार छन् । नारायणहिटी दरबारकाण्ड र ज्ञानेन्द्रको शाही कदमले नेपाली जनता राजतन्त्रको विकल्पको रुपमा भौतारिइ तत्कालिन सात दल र माओवादीको १२ बुँदे सहमतिको समर्थक भइ जनआन्दोलनमा सहभागी भएका हुन् । विरेन्द्रको वंशनाश नभएको भए सायद मुलुकमा अहिले गणतन्त्र आउने थिएन ।” (२०६६ चैत १६ – नागरिक )
नेपालको राजनीतिक इतिहास पल्टाउदै जाने हो भने २००७ सालमा त्रिभुवनको पालामा जहाँनिया राणा शासनको पतनसँगै मौलाएको प्रजातन्त्र २०१७ सालमा राजा महेन्द्रको शाही कु सँगै ओरालो लागेको देखिन्छ ।
३० बर्षे पञ्चायति शासन विरुद्द छेडिएको २०४६ सालको आन्दोलनले (विरेन्द्र) बहुदलिय व्यवस्था त ल्यायो नै साथै भष्ट्राचार र कुशासनको अव्यवस्थित राजनीति पनि सँगसँगै ल्यायो । दलिय स्वार्थ र दलहरुको सत्ता प्राप्तिको दाउपेच तथा नेताहरुको कमिसनको चलखेल ४६ सालको प्रजातन्त्र पुन: बहालीको ६ बर्षे अवधिमा यति विध्न बढेर जनमानसमा उदांगो भयो कि नेपाली समाजको एक ठुलो हिस्सा हतियार उठाउन प्रेरित भयो । संवैधानिक राजतन्त्र निर्मुल पार्नु ,२०४६ सालको संविधानलाई खारेज गर्नु र जनगणतन्त्रको स्थापना गर्नु आदि उद्देश्य लिएको त्यो जत्था थियो – माओवादी । वि.सं. २०५२ सालमा डा. बाबुराम भट्टराईद्दारा गठित उक्त मोर्चाले सरकारसँग भारतसँगका विधमान असमान सन्धिहरु खारेज गर्नुपर्ने, राजाका सबै अधिकार र सुविधा कटौती गर्नुपर्ने , संविधानसभाका माध्यमबाट नयाँ संविधान बनाउनु पर्ने , पुँजीवादीहरुको सम्पति राष्ट्रियकरण गर्नुपर्ने तथा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नुपर्ने अन्यथा सशस्त्र संघर्ष गर्न बाध्य हुने उल्लेख गरी माग राख्यो । तर त्यतिबेलाको सरकारले यी मागहरु वेवास्ता गर्यो फलस्वरुप माओवादीको पूर्णत गठन र जनयुद्दको प्रारम्भ भयो । २०४८ देखि २०५१ सम्म तत्कालिन सरकारमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रिका रुपमा थिए । तत्कालिन राज्य सरकारको अदुरदर्शिता र विवेकशुन्य विचारकै कारण नेपाल १० बर्षे लामो जनयुद्दमा फस्न पुग्यो ।
वि. सं. २०५१ देखि २०५६ बिचको पाँचबर्षे अवधिमा छिटो छिटो गठबन्धन सरकार बन्ने र परिवर्तन हुने भैरह्यो । कुर्सीको खिचातानीमा व्यस्त दलहरुको अविवेकीपु्र्ण चेतनाको कारण माओवादिले भित्रभित्रै ठुलो संगठनको रुपमा आफुलाई बढाउने पर्याप्त समय पायो । फलत:देशका भौतिक पूर्वाधारहरु नष्ट हुदै विकासको काम ठप्प प्राय रहे र भष्ट्राचार र कुव्यवस्थाको कुचक्रमा पहिले देखि फसिरहेको देश अन्तत: गृहयुद्द र अस्थिर राजनीतिको चपेटामा अल्झिरह्यो ।
२०४६ सालदेखिकै राजनीतिक इतिहासलाई पुन: विश्लेषण गर्ने हो भने तत्कालिन समयमा तत्कालिन शाही नेपाल वायुसेवा निगम (शानेवानि)लाई लक्षित गरी कैयौ भष्ट्राचार भएको पाइन्छ । बहुदलिय व्यवस्थापछिको सबैभन्दा पहिलो र ठुलो भष्ट्राचार काण्ड हो – २०४९ सालको धमिजा काण्ड ।
तत्कालिन प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाको पालामा भारतिय मुलका एक बेलायती नागरिक दिनेश धमिजाको फेयर कम्पनिलाई राष्ट्रिय ध्वजाबाहक शानेवानीका टिकट पुरै युरोपभरि बेच्नको लागी एजेन्ट नियुक्त हुनेगरी सम्झौता गरियो । टेण्डर आव्हान नै नगरी किन सम्झौता गरियो र युरोपभरि एउटै व्यक्तिलाई किन टिकट बेच्नका लागी एकाधिकार प्रदान गरियो भन्ने सम्बन्धमा प्रश्न उठाइए र उक्त कुरा एक विवादको विषय बन्न पुग्यो । पत्रपत्रिकामा छापिएका रिपोर्ट अनुसार सुजाता र उनका जर्मन पति नोवर्ट जोष्टको विशेष सिफारिसमा बिना प्रतिस्पर्धा उक्त सम्झौता भएको दावी छ । २०५८ सालमा दामोदर गौतमको अध्यक्षतामा गठित उच्चस्तरिय सुझाव प्रतिवेदन अनुसार तत्कालिन सरकारको सो निर्णयले निगमलाई ३९ करोड ५० लाखको नोक्सान भएको उल्लेख छ ।
धमिजा प्रकरणको एक बर्ष नबित्दै २०५० सालमा शानेवानिका दुई बोइगं विमानलाई कौडीको भाउमा जर्मनीमा बेचेको अर्को आरोप कोइराला सरकारलाई लाग्यो । पछिसम्म पनि युरोपमा उडिरहेका ति दुवै विमान मात्र १२ करोड रुपैयामा बेचिएका थिए । चालु अवस्थामा रहेका विमान बिक्रि गर्ने त्यसबखतको निर्णयको पछाडि गिरिजा र उनकि पुत्री सुजाताको हात रहेको आशंका गरिइन्छ ।
बर्षेनि जहाज मर्मतदेखि इन्जिन मर्मतमा समेत अनियमितता हुने शानेवानि कमिसनको दर्हो चलखेलका कारण बिस्तारै धराशायी बन्दै गयो । त्यसमा अझ टेवा दियो – २०५७ सालको अर्को बहुचर्चित लाउडा प्रकरणले । स्मरण रहोस् , २०५६ – २०५८ मा त्यतिखेर पनि गिरिजा प्रसाद कोइराला नै प्रधानमन्त्रि रहेका थिए ।
२०५७ सालमा भाडामा लिइएको अष्ट्रियाको लाउडा एयरलाइन्सको जहाजले निगमलाई करौडौको घाटा बोकायो । चाइना साउथ वेस्ट एयरलाइन्सको बोइगं ७५७ सिरिजको मध्यम आकारको जहाज भाडामा चलाइरहेको निगमले उक्त जहाजको समयसिमा एक बर्षको लागी बढाएकै बखत लाउडा एयरलाइन्सको बोइगं ७६७ सिरिजको ठुलो जहाज भाडामा लिइयो । पर्याप्त यात्री नभैरहेको अवस्थामा ७५७ सिरिजको एउटा विमान हुँदाहुँदै ७६७ सिरिजको अर्को ठुलो विमान किन ल्याइयो भनि तत्कालिन सरकार विवादमा मुछियो ।
लाउडामा ३८ करोडको अनियमितता भएको र उक्त भष्ट्राचारमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सहित पर्यटन तथा नागरिकमन्त्री तारणिदत्त चटौतको प्रमुख संग्लनता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।
अख्तियार आयोगका तत्कालिन प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायद्दारा लिखित ” अख्तियारमा ६ बर्ष ” पुस्तक भन्छ ” लाउडामा गिरिजा कोइराला पनि संग्लन रहेको “
निगमका एक अधिकारीलाई उधृत गर्दै छापा माध्यम लेख्छ – ” लाउडा सुनियोजित रुपमा कमिसन खानकै लागी ल्याइएको थियो “
निगमका साथै कोइराला सरकारद्दारा केहि कारखानाहरुमा पनि आर्थिक तथा राजनैतिक अनियमितता गरिएको भनी त्यसबखतका संचारमाध्यमका मुखपृष्टहरुमा चर्चाको विषय बनिरहे । नाफामा चलिरहेको बाँसबारी छाला जुत्ता कारखाना (चिन सरकारद्दारा निर्मित)लाई भारतिय सल्लाहमा कोइरालाले २०४९ सालमा निजिकरण गर्ने नाउँमा झण्डै २१ करोडको कारखाना मात्र २ करोड ( जबकी कारखानाको जग्गाकै मूल्य २ करोडको थियो ) मुल्यमा भारतियलाई नै बेचेको समाचारले देशव्यापी चर्चा पायो ।
भृकुटी कागज कारखाना २५ करोडमा बेचिएको,हेटौडा कपडा उधोग बन्द गराइको जस्ता विवादहरुले सत्ताधारी कांग्रेसी सरकार निकै आलोचित बन्न पुगेको थियो ।
गिरिजा २०४६ को जनआन्दोलनपछि सबैभन्दा बढी सत्तामा सरकार प्रमुखको हैसियतमा रहेका व्यक्तित्व हुन् । चार चार पटक प्रधानमन्त्री भइ राष्ट्रको निम्ति केहि गरेर देखाउने पर्याप्त स्रोत , समय र साधन हुँदाहुँदै पनि देशले केही फड्को मारेको नेपाली जनताले आभाष गर्न पाएनन् । जहाँसम्म नेपाली समाजको विकास जस्तै सञ्चारमाध्यम, यातायात सुविधा, शिक्षामा आमुल परिवर्तनका कुरा छन् ति भनेका समयको वहावसँगै भएका विकासक्रम हुन् । राज्यले केहि गर्ने अठोट लिएर अगाडि बढ्न सकेको भए नेपालको प्रगति द्रुत गतिमा अवश्य हुने थियो भन्नेमा दुइमत छैन् ।
गिरिजालाई लक्षित गर्दै इन्टरनेटमा एउटा साइट लेख्छ , ” उनको सत्ता मोह यति थियो कि जब जब उनि सत्ता बाहिर हुन्थे तब सरकार परिवर्तन गर्न र मुलुकमा अनेकौ अस्थिरताको तुँवालो फैलाउनमै केन्द्रित रहन्थे “
वाम (कम्युनिष्ट)राजनीतिका कटु आलोचक र २०४८-५८ साल सम्मको राजनीतिक वृतमा अनेकौ काण्डहरुका विवादास्पक व्यक्तित्व गिरिजा जीवनको अन्तिम क्षणमा सबै वाम पार्टीहरुसहित सम्पुर्ण दलहरुको साझा तथा सर्वमान्य नेता बन्न सफल भए , जसको श्रेय निश्चयनै उनको स्पष्ट वाक शैली , निडर स्वभाव र राजनीतिमा अत्याधिक झुकावलाई नै जान्छ ।
लेखकको निजि विचार लिने हो भने कोइराला एक अदम्य साहस भएका राजनीतिका कुशल खेलाडी थिए – तर मात्र राजनीतिको लागी । राज्य र जनताको लागी विकासका खाका कोर्न प्रशस्त मौका पाएर पनि त्यो स्तरमा काम गर्न नसकेको साक्षि उनको प्रधानमन्त्री रहदाको इतिहास छ । २०६२-६३ को जनआन्दोलन -२ लाई सफलतापूर्वक डोर्याइ विभिन्न कोणमा विभाजित दलहरुलाई एकै बिन्दुमा समेटी एक वृहत शान्ति प्रकिया मार्फत राष्ट्रलाई गणतन्त्रको दिशामा हिडाउने कोइरालाको युगान्तकारी कदम वास्तवमै साहसिक र सराहनिय थियो । माओवादीलाई बहुदलिय प्रतिस्पर्धामा उतारेर राजतन्त्रलाई जरैसमेत उखेली गणतन्त्रलाई स्थापित गर्न कोइरालाले खेलेको अग्रणी भुमिकाले नै उनको राजनीतिक जीवनमा एकाएक नाटकिय परिवर्तन ल्यायो ।
२०४८ देखि २०५८ सम्मको राजनीतिक इतिहासमा धमिलिएको छविलाई समयको सही मुल्यांकन गर्दै २०६२-६३ को जनआन्दोलन -२ मा सफल नेतृत्व र अभिभावत्कपूर्ण व्यवहार निर्वाह गर्दै जीवनको उत्तरार्धमा बिग्रिएको इमेजलाई स्वच्छ पार्न सहि कुटिलता जानेका गरिजा प्रसाद कोइरालाको देहावसान (२०६६ चैत ७) सँगै नेपाली राजनीतिक आकाशमा गिरिजा झै निडर , आत्मविश्वासी र हक्की स्वभावका अर्को राजनीतिज्ञको आश नेपाली समाजले सदैव गर्ने छ ।
नोट :- मरेपछि प्रंशसा गर्ने हाम्रो बानीले कतै हामीले गिरिजासँग सम्बन्धित कैयौं आलोचनात्मक राजनीतिक पाटोलाई पाखा त लगाईरहेका छैनौ ??भावी पुस्ताले युगपुरुष भनी चिनिएका पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग सम्बन्धित विवादहरु पनि जान्न पाउन भन्ने हेतुले उनको सबैभन्दा विवादित २०४८-५८ सालको राजनीतिक परिवेशलाई कोट्याइएको हो । ताकी भावी पुस्ताले गिरिजाको सकारात्मक र नकारात्मक दुवै पक्ष केलाउदै आफै निर्णय गर्न सकुन भन्ने यस लेखको निजि आशय रहेको छ ।